सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पार्टी एकताका लागि एकीकृत समाजवादीले पठायो जसपालाई पत्र

पार्टी एकताका लागि एकीकृत समाजवादीले पठायो जसपालाई पत्र

काठमाडौं २३ पुस । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच चलिरहेको एकता(वार्ता अब औपचारिक रुपमै अगाडि बढेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपालाई पत्र पठाइएको जानकारी दिए।

एकीकृत समाजवादीको गत बिहीबारको सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको थियो। बेदुराम भुसाल, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको कार्यदलले जसपालाई पत्र पठाएको अध्यक्ष नेपालको भनाइ छ।

‘कार्यदलले आफ्नो चिठी जनता समाजवादी पार्टीलाई पठाएको छ। सो पार्टीका नेता उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, गोविन्द चौधरी लगायतका नेताहरुसँग पनि संवाद अगाडि बढाउँदैछौँ’, शनिबार आयोजित एकीकृत समाजवादी निकट नेवा संघको अधिवेशनमा उनले भने।

जसपासँग विचारमा कति मिल्ने, मार्क्सवाद र लेनिनवादप्रति कति प्रतिबद्ध हुने, समाजवादप्रति कति प्रतिबद्ध हुने यी सबैमा विचार र धारणा कति मिल्छन्, त्यसआधारमा अहिलेको राष्ट्रिय राजनीतिमा कसरी अगाडि बढ्ने, त्यो सबै टुंगो गरेर एउटा खाका तयार पार्ने र सहमतिको एउटा निश्चित आधार तयार गर्ने अध्यक्ष नेपालको भनाइ छ।

‘अरु पनि पार्टीहरु छन्। नेपाल मजदुर किसान पार्टी लगायत सबै पार्टीसँग कुराकानी गर्छौँ। यसअर्थमा पनि हाम्रो राजनीतिक पहलकदमी अगाडि बढ्नेछ। राजनीतिक सक्रियता अगाडि बढ्नेछ’, नेपालले भने।

अध्यक्ष नेपालले राजनीतिक सक्रियता बढाउनका लागि वामशक्तिहरुलाई एकताबद्ध बनाउनुपर्ने बताए। ‘राजनीतिक पार्टीहरुसँग संवाद बढाउनुपर्छ। कुरा मिल्नेहरुसँग हामीले मोर्चा पनि बनाउनुपर्छ। यदि सबै विचार नीति मिल्छ भने पार्टीलाई एकताबद्ध पनि बनाउनुपर्छ। कुन पार्टीसँग एकता हुनसक्छ, त्यो पनि हामी खोजी गर्नेछौँ। कुन पार्टीसँग मोर्चा बन्न सक्छ, त्यसको पनि हामी खोजी गर्नेछौँ’, उनले भने। नेपाल लाइभबाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend