फाइल फोटो
काठमाण्डौ १८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन । आज सोमवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै उनले यस्ता बताएका हुन ।
अध्यक्ष नेपालले देश र नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए । उनले आफ्नो पार्टी कसैको अघि लत्रने पक्षमा नरहेको बताए । देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोप–प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो ।
उनले भने, ‘हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । नेपाली नागरिकको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । यो आरोप–प्रत्यारोप गर्ने बेला पनि होइन । कसैको सामु लत्रिनुपरेको पनि छैन । हामीले ठिक गरेका छौँ । दृढताका साथ उभिएका छौँ । हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौँ ।’
उनले आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए ।
आजदेखि सुरु भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेन्डासमेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । त्यसैगरी बैठकमा चुनावको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend