काठमाडौँ १८ पुष । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताको सेवा प्रवाह चुस्त ढङ्गले गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले सकेसम्म छिटो, छरितो रूपमा जनताका काम गर्न निर्देशन दिएका हुन् ।
देशको पछिल्लो शान्ति सुरक्षाको अवस्था बुझ्न सोमबार प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूसँग भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले जनताको गुनासो नआउने ढङ्गले सेवा प्रवाह गर्न सीडीओहरूलाई निर्देशन दिए । गृहमन्त्रीले देशमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिए ।
गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्री लामिछानेले सहज ढङ्गले जनताको काम गर्न सीडीओ र सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।
उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न आग्रह गर्दै भने, ‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्व राख्छ । शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयङ्गम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार होऔं ।’
मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन, नागरिकका समस्या सुन्दा र समाधानको पहल गर्दा समभावसहित गर्न निर्देशन दिए ।
सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन उनको निर्देशन छ । क्षतिपूर्ति तथा मुआब्जा निर्धारण गर्दा त्यसले राज्यकोषमा पार्ने प्रभाव र मूल्याङ्कनको दीर्घकालीन प्रभावबारे विचार गर्न पनि मन्त्री लामिछानेले आग्रह गे ।
पूर्ण सेवाभावले काम गरी नागरिकको अनुहारमा मुस्कान ल्याउन र जनताको मुहारमा ल्याउन सकेको खुसीप्रति जिम्मेवार हुन पनि मन्त्री लामिछानेको आग्रह थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend