काठमाडौं २१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आउने स्थानीय, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर एमाले विजयी हुने बताएका छन्। त्यसपछि सबैको राम्रा दिन आउने उनले दाबी गरे।
निर्यात उद्योग व्यवसायी महासंघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय संसद्को निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकिर गरे।
कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि अबको दिन राम्रो हुने उनको भनाइ छ। ओलीले आफ्नो पार्टीनिकट निर्यात व्यवसायीहरूलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गरे।
‘अहिले त हामी चुनावतिर छौं। तपाईंहरुले पनि यसो समय निकाल्नु होला’, उनले भने, ‘सके प्रचारप्रसार गर्नु होला। सक्नु भएन भने भोट हाल्नु होला।’
ओलीले स्वदेशी वस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गरे। उनले अनाआवश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरुको बजारीकरणमा नेपालले जोड दिन आग्रह गरे। ओलीले मुलुक रेमिटयान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend