काठमाडौँ चैत १९ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी आन्दोलन पतन भएको टिप्पणी गरेका छन् । शनिवार अनेरास्ववियुको सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘नेपालमा माओवादी आन्दोलनको पतन भयो । हिजो जे भनेको थियो माओवादीले अहिले पूरै मोडियो । यस अर्थमा माओवादी आन्दोलनको पतन भयो ।’
माओवादीको नेतृत्व प्रचण्ड नेपाली कांग्रेसको अभिष्ट पूरा गर्नतर्फ लागेको महासचिव पोखरेलको भनाइ छ । ‘प्रचण्डले हिजो १७ हजारको बली चढाए । त्यसको हिसाबकिताब छैन । तर, उहाँचाहिँ कांग्रेको अभिष्ट पूरा गर्नतर्फ लाग्नुभएको छ । यसैले पनि माओवादी आन्दोलन पतन भयो ।’
यस्तै उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पनि कटाक्ष गरेका छन् । एमाले फुटाएर एकीकृत समाजवादी बनाएका नेपालमाथि एमाले नेताहरूले कटाक्ष गर्दै आएका छन् । महासचिव पोखरेलले भनेका छन्, ‘माधव नेपालहरू कम्युनिष्ट आन्दोलनमा भिज्न कहिल्यै सकेनन् ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend