आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

डा डी आर उपाध्यायले पुर्‍याए १०८ विश्व कीर्तिमान, पूर्वप्रधानमन्त्री खनालले दिए बधाई

डा डी आर उपाध्यायले पुर्‍याए १०८ विश्व कीर्तिमान, पूर्वप्रधानमन्त्री खनालले दिए बधाई

 

 

काठमाडौं, चैत १८ । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायले १०८ विश्व रेकर्ड कायम गर्नुभएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच उहाँका थप २८ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँको विश्व कीर्तिमानको सङ्ख्या १०८ पुगेको हो । डा उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले कीर्तिमान हस्तान्तरण गर्नुभएको थियो ।

डीआर म्युजिक क्रियसन आयोजक तथा खनाल सेवा समाज सहआयोजक रहेको समारोहमा डा उपाध्यायका थप आठ एल्बम पनि विमोचन गरिएको थियो । यसअघि डा उपाध्यायका २५ गीति एल्बम सार्वजनिक भइसकेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले डा उपाध्यायलाई विश्व कीर्तिमानका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यमा लाग्न शुभकामना दिनुभयो । उहाँका कामले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन सघाउ पुगेको पनि उल्लेख गर्नुभयो । गीतकार डा। उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिचान अझ उच्च बनाउने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो ।

साहित्यकार प्राडा नारायण खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गीतकार संघका निवर्तमान अध्यक्ष चुणमणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एभरेस्ट वल्र्ड रेकर्डका फाउन्डर मथुराप्रसाद श्रेष्ठ, एनटिभी बोर्ड सदस्य सवनम मुखिया, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

डा। उपाध्यायलाई शुक्रबार एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्ड जस्ता विश्व वल्र्ड रेकर्ड प्रदान गर्ने संस्थाले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा सञ्चारकर्मी नरेश भट्टराई, कृष्ण भुसाल, गीता अधिकारी, कुवेर गिरी, संगीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, निर्देशक माइकल चन्द, भिडियो सम्पादक सिलन लम्साल, छायाँकार उत्सव दाहाललाई युरोपियन रेकर्ड बुकको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

समारोहमा बाबुल गिरीले डा। उपाध्यायको आमालाई समर्पित गीत ‘मेरी आमा’ गाउँदा सबैका आखाँ रसाएका थिए भने सागर अधिकारी ‘शरद’ र उहाँको समूहले राष्ट्रिय गीत गाएर समारोहको माहोललाई ऊर्जामय बनाउनुभएको थियो ।

गिनिज बुक अफ वल्र्ड रकेर्ड सहित १०८ विश्व रेकर्ड कायम गरेका डा। उपाध्यायका बाह्र उपन्यास सार्वजनिक भइसकेका छन् । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा गीत संगीत तथा साहित्यका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend