काठमाडौं, १२ चैत । नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज औपचारिक भेटवार्ता गर्ने भएका छन्।
उनी शुक्रबार दिल्ली हुँदै काठमाडौं पुगेका थिए। चिनियाँ विदेशमन्त्री यीले शुक्रबार कुनै कार्यक्रममा सहभागिता जनाएनन्।
आज यीले परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा खड्का र यीबीच भेटवार्ता हुनेछ।
त्यस्तै, ३ः४५ देखि ५ः१५ बजेसम्म परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुने कार्यतालिका रहेको छ। मन्त्री खड्काको नेतृत्वमा परराष्ट्र, गृह, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, पर्यटन मन्त्रालयका सचिवलगायतको टोली सहभागी हुनेछ।
यस्तै‚ चिनियाँ प्रतिनिधि मण्डलमा विदेशमन्त्री वाङसहित नेपालका लागि चिनियाँ राजदूत होङ यान्छी, चिनियाँ विदेश मन्त्रालय, वाणिज्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। द्वीपक्षीय वार्तामा केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
चिनियाँ विदेशमन्त्री वाङले बेलुकी ५ः४५ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यस्तै यीले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्ता रुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी आइतबार नै चीन फर्किनेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend