काठमाण्डौ ९ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मधेस प्रदेशमा बाहेक ६ वटा प्रदेशमा पार्टी पहिलो हुने निष्कर्ष निकालेको छ । आज काठमाण्डौमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माणका काम गर्न नसकेको लगायतका विषयलाई आँकलन गर्दा एमालेले चुनावमा बहुमत ल्याउने पनि बैठकको निष्कर्ष रहेको छ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको चुनावमा आफ्नो पार्टीले बहुमत हासिल गर्नुपर्ने बताएका छन । एमालेविरुद्ध भ्रमपूर्ण प्रचारहरू भएको दाबी गर्दै खण्डन गरेर चुनावमा बहुमत हासिल गर्ने गरी तयारी गर्न नेतारकार्यकर्तालाई उनले निर्देशन दिए ।
यस्तै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा बहुमत नल्याएमा सङ्घीय सरकार चलाउन पनि समस्या हुने बताए । उनले भने , ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौँ । इतिहासको लोकतान्त्रिक आन्दोलनको विरासत हामीसँग छ । आजको समस्या र चुनौतीको सामना र समाधान गर्नुपर्ने उत्तरदायित्व हामीसँग छ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा हामीसँग छ । यसका लागि स्वाभाविक रूपमा आउँदा चुनावहरू महत्त्वपूर्ण छन् । बहुमत ल्याउनुपर्छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend