आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कीर्तिमानी गीतकार डा उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

कीर्तिमानी गीतकार डा उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

 

 

काठमाडौं, ९ चैत। कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ विमोचन भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, सङ्गीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, अग्रज पत्रकार तुलसी गिरी, दीपक श्रेष्ठलगायतले एल्बमको विमोचन गर्नुभएको हो ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।

एल्बम सार्वजनिक समारोहमा संगीतकार सूर्य दयालुले डा उपाध्यायले सधै फरक काम गर्ने क्रममा अर्को नयाँ फरक गीत सार्वजनिक गरेको भन्दै यसमा रहेको सङ्गीत पनि त्यतिकै राम्रो रहेको चर्चा गर्नुभयो । यस्तै विश्वभाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठले भाषागत रुपमा गीतमा रहेको भाषाको स्वारकंन राम्रो रहेको टिप्पणी गर्नुभयो । सङ्गीतकार सन्तोष श्रेष्ठले यसअघि विभिन्न १२ देशका भाषामा गीत गरेकोमा फेरि पचास भाषामा गीत सार्वजनिक गर्न पाउँदा निकै हर्षित भएको बताउँदै डा। उपाध्यायले हेरक पल्ट नयाँ र फरक कार्य गर्न खोज्ने क्रममा यसको जन्म भएको बताउनुभयो ।

यस्तै गीतका रचनाकार डा। उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको दाबी गर्नुभयो । डा उपाध्यायको यसअघि १२ भाषामा रहेको गीति एल्बम सार्वजनिक भएको थियो ।
समारोहमा सञ्चारक कर्मीहरू र गीत सङ्गीतका विभिन् व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा। उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोतारदर्शकमाझ छन् ।

यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा। उपाध्यायले यही चैत १८मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend