काठमाडौँ ३०, फागुन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले प्रकाश सपुतको गीत ‘पिर’को म्युजिक भिडियोमा सत्य कुरा देखाइएको टिप्पणी गरेका छन्।
उनले जनयुद्धका महिला लडाकुहरु शरीर बेच्न बाध्य भएको हुनसक्ने पनि धारणा राखे। यो अनुसन्धानको विषय भएको र यस्तो बाध्यता रहे यसलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।
माओवादीका चार भ्रातृ संगठन जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घ, अखिल नेपाल महिला संङ्घ (क्रान्तिकारी), जनसांस्कृतिक महासङ्घ, प्रेस सेन्टरले विज्ञप्ति निकालेर भिडियो हटाएर माफी माग्न चेतावनी दिएका बेला पूर्वमाओवादी नेता रायमाझीले गायक सपुतले वास्तविकता बाहिर ल्याएको बताएका हुन्।
‘त्यसमा भएका दृश्यहरु सही छन्। जनयुद्धले पुरानो व्यवस्था ढाल्न निर्णायक भूमिका खेल्यो। अधिकार केही हदसम्म संस्थागत गर्यौं। तर जनयुद्धका योद्धाको व्यवस्थापन नगर्दा माओवादी ओरालो लाग्दै गयो। अहिले बिसर्जनतिर गइरहेको छ। जनयुद्धका इतिहास बोकेका योगदान गरेरका मानिसहरु अरब खाडीमा भौतारिरहेका छन्। घाइते अपाङ्ग शहिद परिवार कहाँ छन्रु’ उनले भने।
रायमाझीले योद्धाहरुको उचित व्यवस्था, उपचार, रोजगार सिर्जना, राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन निरन्तर आवाज उठाएपछि नसुनेर लोभीपापीको पार्टी बनाएपछि बाहिरिएको पनि दाबी गरे।
‘शरीर बेच्ने कुरा कतिपय हुनसक्छन् । त्यो अनुसन्धानको विषय हो। अनुसन्धान गर्नुपर्छ । वृत्तचित्र बनाउने मित्रहरुले अनुसन्धान गरेर बनाउनुभएको छ,’ उनले भने, ‘क्रान्तिका योद्धाहरु छटपछिमा छन्। उनीहरुको आक्रोश आइरहेको छ। राज्यले सम्बोधन र व्यवस्था गर्नुपर्छ। माओवादीले त गरेन। केपी ओलीको सरकारले काम गर्ने भनेर अघि बढाएको थियो। तर सरकार ढल्यो।’
रायमाझीले भिडियोमा आएको कुरा विरोध गर्नुभन्दा अध्ययन गरेर सच्याउनेतिर लाग्न माओवादी नेता कार्यकर्तालाई सुझाव दिए। ‘त्यो आएको कुराको विरोधभन्दा अध्ययन पो गर्ने हो। कहाँ कहाँ के भइरहेको छ के के गर्ने ? हेर्ने हो। उहाँहरु छटपटाहटमा छन्। सम्बोधन गरिएको छैन। पीडित हुनुहुन्छ। वृत्त चित्र ल्याउने साथीले अध्ययन गर्नुभएको छ। हामीले पनि गर्नुपर्छ। त्यस्तो अवस्था छ भने भयानक छ। त्यसको समाधान खोज्ने हो । विरोध गर्ने होइन। त्यस्तो रहेछ भने करेक्सन गर्नुपर्छ । पाठ सिक्नुपर्छ,’ उनले भने।
प्रकाश सपुतलाई धम्की दिनेभन्दा समयमै अध्ययन गर्न सुझाउँदै रायमाझीले नत्र अरुले अध्ययन गरेर अझै वृहत् रुपमा बाहिर ल्याउने खतरा रहेकोतर्फ पनि माओवादी नेतृत्वलाई सचेत गराए। हिमाल प्रेसबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend