काठमाडौं पुस ५ । मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ ।
त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्पको रूपमा उपत्यकाको १३ वटा ठाउँमा नयाँ ‘डिप बोरिङ’ जडान गरी एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्न लागिएको जानकारी दिए ।
उनले उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु नभएसम्म पानीको अभाव हुन नदिन पानीको उत्पादन थप गर्न लागिएको स्पष्ट पारे ।
उनले अबको दुई महिनामा अध्ययन सम्पन भई निर्माण कार्य सुरु हुने बताए । दसवटा जडान भई सञ्चालनमा आइसकेपछि वितरण प्रणालीमा दैनिक थप एक करोड लिटर पानी थप हुने बताए ।
उपत्यकामा भएका पानीका स्रोतहरूको संरक्षण गर्दै पानीको उत्पादन थप्न लागिएको बताउँदै उनले भने, ‘‘केयूकेएलले अहिले सञ्चालनमा रहेका ३५ वटा सतहगत मुहानलाई सफा र मर्मतसम्भार गरी बढीभन्दा बढी पानी पोखरीमा ल्याउने, चुहावट भइरहेको पाइएमा ७२ घण्टाभित्र मर्मत गर्ने र सुक्खा ठाउँहरूमा ट्याङ्करबाट समेत पानी वितरण गर्ने कार्यक्रम अगाडि बढाइएको छ । ’’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend