काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एकता गर्दा भएका सहमति पालना गरेको भए ओली नेपालको इतिहासमा एउटा महान् नेता हुने दाबी गरेका छन । ओलीको ‘गिदीभित्र गोबर भरिएका कारण’ सो अवसर गुमाएको उनले आरोप लगाए । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै बुद्धिका कारण महान् नेता हुने अवसर गुमाएको प्रचण्डको भनाई छ । वाइसिएल नेपाल, पाँचखाल काभ्रेको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । केपी ओलीले विदेशीका सामु आत्मसमर्पण गर्ने तर आफ्नै सहयोद्धामाथि अपमान र षड्यन्त्र गर्ने गरेको उनले बताए ।
आफूले ‘केपी प्रवृत्ति’बारे १९ पृष्ठ लामो प्रतिवेदन राखेको स्मरण गराउँदै उनले भने, ‘केपी प्रवृत्ति विचारका हिसाबले मार्क्सवादी वा कम्युनिस्ट होइन, यो सामन्ती हिन्दू अतिवादी हो ।’ ओलीले प्रधानमन्त्री हुँदा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाएको र चितवनमा राम, सीता र हनुमान मन्दिर राखेको प्रसंग उल्लेख गर्दै उनले भने,‘मेरो निर्वाचन क्षेत्रमा लगेर राम, सीता र हनुमान राख्देको छ, राम, सीता र हनुमानसँग म लड्न जाने कुरा त आएन ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend