सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले माधब नेपाल आफू सिद्धिने दिशामा लागेको बताएका छन । उनले नयाँ पार्टी खोलेर माधव नेपालले गल्ती गरेको बताए ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘नयाँ दल दर्ता गरेर ठूलो गल्ती गर्नुभएको छ, उहाँले कुनै दिन विचार गर्नुहोला, यो कसरी जष्टिफाइ गर्नुहुन्छ, एउटै नीति, एउटै विचारधारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पुष्टि गर्नसक्नुहुन्न ।’
उनले भने,‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, तपाईहरूले जित्नुहुन्न, आफूले आफूलाई सिध्याउने दिशामा लाग्नुभएको छ, एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नुस् ।’
‘माधव कमरेडले स्थायी कमिटीको बैठक पनि नराखी अचानक नयाँ पार्टी दर्ता गर्न पुग्नुभयो । तपाईं पार्टी दर्ता गर्न जाँदै हुनुहुन्छ रे भनेर त्यही दिन बिहान मैले फोन गरेर सोध्दा उहाँले हो भन्नु भयो, मैले स्थायी कमिटिको बैठक बसाल्नुस्, त्यहाँ छलफल गरेपछि मात्रै के गर्नुपर्ने हो, जानु पर्ने हो भने जाऔंला नजानु पर्ने हो भने नजाऔंला, छलफल नै नगरेर नयाँ दल दर्ता गर्न जानु भनेको इतिहासमै ठूलो गल्ती हुन्छ । संस्थागत निर्णय नगरिकन नजानुहोस् भनेको थिएँ ।’
विभाजनमा नजाने केन्द्रीय कमिटीको निर्णयविपरीत नेता नेपाल लागेको ज्ञवालीले बताए । ‘बैठक नबसी उहाँ दल दर्ता गराउन जाँदा खेरि उहाँले छोडेको भयो कि हामीले छोडेको भयो ? तथ्यले के भन्छ रु मलाई छोडेर जानुभयो भनेर हामीलाई आरोप लगाउनु भएको छ, बैठकमा छलफल नै नगरिकन दल दर्ता गर्न जाने ? ’, उनको प्रश्न थियो ।
माधव नेपाल सहितको एमाले एकता गर्ने प्रयास गरे पनि नेपालले ओलीसँग मिलेर बस्न नचाहेको ज्ञवालीको टिप्पणी थियो । एमाले फुटाउनमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले त्यसको सधैँ प्रतिरोध गर्ने बताए ।
‘सभामुख पदमा जो व्यक्ति बसे पनि उहाँले निष्पक्षतामा काम गर्नुपर्छ । पार्टीले हाम्रा कार्यकर्ताहरुलार्ए कारवाही गर्न संस्थागत निर्णय गरेर निवेदन दिइसकेपछि त्यसलाई लामो समयसम्म राख्नुले पुष्टी गर्छ कि सभामुख चाहिँ एमाले फूटाउनका लागि भूमिका खेल्नु भएको छ भन्ने कुरा तथ्यबाट देखिन्छ’, ज्ञवालीले भने । पदमा पुगेको व्यक्तिले संविधान र कानूनबमोजिम काम गर्नुपर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend