काठमाण्डौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई पार्टीबाट निष्कासन गरिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्।
उनले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको बताएका छन्।
‘ओलीकै कारण पार्टी विभाजन हुनुपर्यो, ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकिकृत समाजवादी) गठन गर्न बाध्य भएका हौं’, नेता नेपालले भने।
उनले आफूहरूसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशतभन्दा बढी सदस्य रहेको दाबी गरे।
‘केपी ओलीलाई बा नभन्ने जति सबैलाई उहाँले शत्रु र विरोधी भन्नुभयो। पार्टीलाई निजी कम्पनीको रूपमा ढाल्नुभयो’, उनले भने।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताएका छन्।
चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले शाक्य आफ्नै सल्लाहमा बागमतीकी मुख्यमन्त्री बनेको बताएका छन ।
‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’
माधव नेपालसहितका नेताहरू सोमबार रातिदेखि नै चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका छन्। बुधबार निर्वाचन आयोगले उनीहरूलाई पार्टी दर्ताका लागि सनाखत गर्न बोलाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend