काठमाडौं २ पुस । नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन्। १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५र२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका थिए। ओलीनिकट सांसद यज्ञ बोगटी सहइञ्चार्ज बनेका छन्।
उनले रावलको चर्को आलोचना गर्दै आएका छन्। ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका डा।भीमबहादुर रावलको गृहजिल्लामा पूर्वमाओवादी नेता बोहराले जिम्मेवारी पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सुदूरपश्चिम सरकारमा तत्कालीन समयमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका बोहरा नेकपा पार्टी विभाजनपछि लेखराज भट्टसँगै एमाले प्रवेश गरेका थिए।
जसरी केन्द्रमा लेखराजले एमाले र ओलीका लागि मन्त्री तथा सांसद पद गुमाए, त्यसैगरी बोहराले प्रदेशमा मन्त्रीका साथै प्रदेश सांसद पनि गुमाउने गरी एमाले प्रवेश गरेका थिए।
१०औं महाधिवेशनअघि सुदूरपश्चिम इन्चार्जमा भीम रावल कि लेखराज भट्ट भनेर विवाद जारी थियो। १०बुँदे गरेर एमालेमै रहेका रावलले आफूलाई इन्चार्ज दाबी गर्दै आएका थिए भने अध्यक्ष ओलीले लेखराजलाई जिम्मेवारी दिएका थिए।
इन्चार्जलाई लिएर रावल र भट्टबीच विवाद नै भएको थियो। तर १० औं महाधिवेशनपछि भट्ट औपचारिक रुपमै इन्चार्ज तोकिएका छन् भने रावल पार्टीको कुनै जिम्मेवारीमा छैनन्।
रावलको पछिल्लो भूमिकाप्रति ओलीका साथै भट्ट पनि असन्तुष्ट छन्। ओलीलाई चुनौती दिने रावललाई ‘साइज’मा ल्याउन लेखराजनिकट बोहरालाई रावलको गृहजिल्लामा इन्चार्ज बनाइएको एमालेवृत्तमा चर्चा छ।
१० औं महाधिवेशनअघि अछाममा रावलनिकट शेरबहादुर कुँवर अध्यक्ष थिए । रावलनिकट संघीय सांसद झपटबहादुर रावललाई भने खानेपानी तथा सरसफाई विभागको प्रमुख बनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend