काठमाडौँ । हिलटन हाइड्रो इनर्जी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा अध्यक्ष मोहन विक्रम कार्कीको अध्यक्षतामा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
सभाले शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
प्रमुख निर्णयहरू तथा वित्तीय प्रगति:
लाभांश र वित्तीय विवरण: आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणका साथै २०% नगद लाभांश अनुमोदन।
जगेडा कोषमा फड्को: कम्पनीको जगेडा कोष अघिल्लो आर्थिक वर्षको रु ४ करोड ८२ लाख ६४ हजार ८ सय ९९ बाट उल्लेख्य वृद्धि भई रु १४ करोड ४० लाख ६९ हजार ७ सय ८१ पुगेको छ।
लेखापरीक्षक नियुक्ति: कम्पनी ऐन, २०६३ बमोजिम आव २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण।
बैंकिङ सम्झौता र सञ्चालन: एनएमबी बैंक लिमिटेडबाट ‘लोन अगेन्स्ट आईपीओ’ स्वीकार गर्ने र अन्य जलविद्युत आयोजना तथा कम्पनीहरूमा शेयर लगानी गर्ने सञ्चालक समितिका निर्णयहरू अनुमोदन।
बैठक भत्ता: सञ्चालक समिति बैठकको भत्ता परिमार्जन प्रस्ताव स्वीकृत।
आयोजना तथा कम्पनी पृष्ठभूमि: वि.सं. २०६६ असोज २७ गते प्राइभेट लिमिटेडका रूपमा स्थापना भई २०७९ असार ३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीको चुक्ता पुँजी रु ६८ करोड रहेको छ। कम्पनीले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-७ मा स्थित १२ मेगावाट क्षमताको सुपर काबेली खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ चैत २ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ।
सभामा स्वागत मन्तव्य राख्दै सञ्चालक राजेन्द्र राज भारतीले ऊर्जा उत्पादनमार्फत राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य दोहोर्याए। अध्यक्ष मोहन विक्रम कार्कीले सबै सरोकारवालाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा संस्थागत सुशासन, दिगो विकास र लगानीकर्ताको हितलाई सर्वोपरि राखेर कम्पनीको व्यावसायिक गतिविधि थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend