काठमाडौँ । आशुतोष इनर्जी लिमिटेडको नवौँ वार्षिक साधारणसभा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा भव्य रूपमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समिति, वित्तीय प्रतिवेदन तथा लाभांश सम्बन्धी महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष कार्कीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरेको छ। यसका साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण वित्तीय विवरणहरूलाई अनुमोदन गरिएको छ।सभाले शेयरधनीहरूका लागि खुसीको खबर ल्याउँदै सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट चुक्ता पूँजीको (करसहित) १८.९४७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयसँगै कम्पनीका लगानीकर्ताहरूले प्रतिफलस्वरूप आकर्षक नगद लाभांश प्राप्त गर्ने निश्चित भएको छ।कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित।
बैठक भत्ता परिमार्जन: सञ्चालक समिति बैठकमा उपस्थित हुने सदस्यहरूको बैठक भत्ता परिमार्जन गर्ने प्रस्तावलाई स्वीकृति।ओभरड्राफ्ट नवीकरण अनुमोदन: सञ्चालक समितिको २०८२ माघ ६ गतेको निर्णयअनुसार ओभरड्राफ्ट खाता नवीकरण गर्ने सम्बन्धी निर्णयलाई सभाद्वारा अनुमोदन।
नेपालमा उपलब्ध जलस्रोतको उपयोग गरी जलविद्युत् आयोजनाको विकास, निर्माण तथा सञ्चालनमार्फत राष्ट्रिय ऊर्जा उत्पादनमा योगदान पुर्याउने उद्देश्यका साथ आशुतोष इनर्जी लिमिटेड २०७४ साल पुस २१ गते कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको हो। संस्थागत विस्तार र सर्वसाधारणको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कम्पनी २०७९ साल जेठ ५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो।
कम्पनीले लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका–२ स्थित चेपे खोलामा निर्माण गरेको ८.६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न गरी २०७९ साल असोज १९ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्दै आएको छ। हाल रु. ४८ करोड चुक्ता शेयर पूँजी रहेको यस कम्पनीले निरन्तर विद्युत् उत्पादनमार्फत राष्ट्रिय ऊर्जा संकट समाधानमा सहयोग पुर्याउनुका साथै शेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्दै आएको छ।
सभाको समापन गर्दै अध्यक्ष मोहन विक्रम कार्कीले कम्पनीको प्रगति, सफलता र दिगो विकासमा शेयरधनी, सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण सरोकारवाला निकायहरूको सहयोग निर्णायक रहेको बताए। उनले आगामी दिनमा चेपे खोला आयोजनाको सञ्चालन र व्यवस्थापनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र नाफामूलक बनाउँदै कम्पनीको वित्तीय आधार सुदृढ गर्ने र शेयरधनीको हितलाई सर्वोपरि राखेर अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend