बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुरक्षित बसोबास, प्रत्येक नागरिकको अधिकार’ नारासहित नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा

सुरक्षित बसोबास, प्रत्येक नागरिकको अधिकार’ नारासहित नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा

काठमाडौं । ‘सुरक्षित बसोबास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा प्रदर्शनी आयोजना हुन लागेको हो।
प्रदर्शनीको पूर्वसन्ध्यामा बिहीबार होटल हिमालयमा आयोजक, प्रदर्शक तथा सञ्चारकर्मीबीच विशेष भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले घरजग्गा तथा निर्माण क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताए। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सुरक्षित र वैज्ञानिक बस्ती विकास तथा दिगो शहरीकरणका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रम नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदर्शनीको उद्देश्य, तयारी तथा मुख्य आकर्षणबारे आयोजकले जानकारी गराएको थियो।
सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीमा यसपटक काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थान तथा भारतबाट समेत गरी १०० भन्दा बढी प्रदर्शनी स्टल रहने आयोजकले जनाएको छ। ती सबै स्टल बुकिङ भइसकेका छन्। प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापनलगायत आधुनिक निर्माण प्रविधि र सामग्री प्रदर्शन गरिनेछ।
प्रदर्शनीलाई वातावरणमैत्री तथा प्रविधिमैत्री बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ। यसबाट प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने प्रयास गरिएको छ।
आयोजकका अनुसार प्रदर्शनी व्यावसायिक गतिविधिमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ। भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकिएको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
प्रदर्शनीमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विषयमा विज्ञबाट निःशुल्क परामर्श उपलब्ध गराइनेछ। त्यस्तै रक्तदान कार्यक्रम तथा ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराउने तयारी गरिएको आयोजकले जनाएको छ।
मेलाको अवधिमा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायत विषयमा नीति निर्माणमा संलग्न उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टहरूको सहभागितामा सेमिनार तथा प्यानल छलफलसमेत आयोजना गरिनेछ। त्यसैगरी नयाँ उद्यम सुरु गरेर चुनौती सामना गरिरहेका युवालाई लक्षित गरी छनोटका आधारमा निःशुल्क तालिम तथा परामर्श उपलब्ध गराइनेछ।
आयोजकले बैंकिङ क्षेत्रमा तरलता सहज रहेको र ब्याजदर घट्दो क्रममा रहेकाले उपभोक्ता तथा लगानीकर्तालाई घरघडेरी छनोट, वित्तीय निर्णय र सुरक्षित लगानीका विषयमा जानकारी लिन प्रदर्शनी उपयोगी हुने जनाएको छ। सरकारी निकायका प्रतिनिधिको सहभागिताले घरजग्गा क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी सुधारका विषयमा समेत छलफलको अवसर सिर्जना गर्ने आयोजकको विश्वास छ।
आयोजकले प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ। घरजग्गा खरिदकर्ता, लगानीकर्ता, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, युवा उद्यमी तथा सञ्चारकर्मीलाई प्रदर्शनीमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ भने सिजी प्रोपर्टिज/सिजी होल्डिङ्स टाइटल स्पोन्सर, एसियन पेन्ट्स ‘पावर्ड बाइ’ स्पोन्सर तथा प्रभु इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा रहनेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend