बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शहीदको सम्झनामा पूर्वकर्मचारीले राहत कोषमा जम्मा गरिन् २१ हजार ८४५ रुपैयाँ

शहीदको सम्झनामा पूर्वकर्मचारीले राहत कोषमा जम्मा गरिन् २१ हजार ८४५ रुपैयाँ

इटहरी । जेनजी आन्दोलनका क्रममा भएको हिंसा र विध्वंसले देश शोकमा डुबेका बेला आफ्नो २५ वर्षे सेवायात्राको अवकाश पनि पीडाबीच बिताएकी इटहरीकी चन्द्रादेवी पौडेल चौलागाईंले एक वर्षअघि गरेको प्रण पूरा गरेकी छन्।

इटहरी उपमहानगरपालिकामा करिब २५ वर्ष सेवा गरेकी चौलागाईंले आफ्नो सेवासुविधाबाट प्राप्त रु. २१ हजार ८४५ रकम सरकारको राहत तथा पुनर्स्थापना कोषमा जम्मा गरेकी हुन्। उनले उक्त रकम जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सहयोगस्वरूप प्रदान गरेकी हुन्।

गत २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन चर्किँदा देशभर नाराबाजी र प्रदर्शनसँगै ठूलो क्षति भएको थियो। आन्दोलनका क्रममा सार्वजनिक तथा निजी संरचनामा आगजनी र तोडफोड हुँदा धेरै भौतिक संरचना ध्वस्त भएका थिए। चौलागाईंका लागि पनि त्यो समय व्यक्तिगत रूपमा निकै पीडादायी रह्यो। आन्दोलनको केही दिनपछि, २०८२ असोज ५ गते, इटहरी उपमहानगरपालिकाबाट उनको करिब २५ वर्ष लामो सेवायात्रा अनिवार्य अवकाशसँगै टुंगिएको थियो।

तर सेवाबाट अवकाश पाएको दिन उनका लागि उत्सवको दिन बन्न सकेन। देश शोकमा थियो, वरिपरि आन्दोलनका कारण जलेका र ध्वस्त संरचना थिए। उनी कार्यरत कार्यालयसमेत आगजनीबाट खरानी बनेको थियो। त्यसमाथि जेनजी पुस्ताका युवाको रगतले सडकहरू राताम्य भएको घटनाले उनलाई थप मर्माहत बनाएको थियो।

त्यही पीडादायी अवस्थामा उनले आफ्नो मनसँग एउटा प्रण गरेकी थिइन्—खाइपाई आएको तलबको आधा महिनाको रकम सरकारको राहत तथा पुनर्स्थापना कोषमा जम्मा गर्ने। तर सेवासुविधा प्राप्त हुन समय लागेपछि तत्काल त्यो प्रण पूरा गर्न सम्भव भएन।

एक वर्षपछि कार्यालयबाट प्राप्त हुनुपर्ने सेवासुविधा हात परेपछि उनले आफ्नो प्रतिबद्धता पूरा गरेकी हुन्। देशले जेनजी आन्दोलनको एक वर्षपछि शहीद दिवस घोषणा गरेको समयमा शहीदहरूको स्मरण गर्दै उनले रकम सरकारको राहत तथा पुनर्स्थापना कोषमा जम्मा गरेकी छन्।

त्यसैबीच रसुवालगायतका क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएर धेरै परिवारलाई पीडामा पारेको अवस्थामा आफ्नो सानो सहयोगले पीडितको राहत र पुनर्स्थापनामा केही योगदान पुगोस् भन्ने उनको भावना छ।

चौलागाईंले आफूले दिएको रकम ठूलो नभए पनि त्यसमा आफ्नो २५ वर्षको सेवाको पसिना, कर्मचारी जीवनको अन्तिम कमाइको अंश, एक वर्षअघि गरिएको प्रण, आन्दोलनका शहीदहरूप्रतिको श्रद्धा र विपत्तिमा परेका नागरिकप्रतिको संवेदना जोडिएको बताएकी छन्।

उनका लागि यो सहयोग केवल आर्थिक योगदान मात्र होइन, शहीदहरूले देखेको सपना पूरा होस् र नेपाल फेरि उठोस् भन्ने एउटा नागरिकको सानो प्रार्थना पनि हो।

इटहरी–९, सुनसरीकी चौलागाईंले शहीदहरूको पवित्र स्मरण गर्दै उनीहरूले देखेको सपना साकार पार्ने दिशामा मुलुक अघि बढोस् भन्ने कामनासहित राहत तथा पुनर्स्थापना कोषमा उक्त रकम जम्मा गरेकी हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend