बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कृष्णभीरको अवरोधबीच तीन दिनमै काठमाडौं भित्रिए ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर

कृष्णभीरको अवरोधबीच तीन दिनमै काठमाडौं भित्रिए ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर मुख्य राजमार्ग अवरुद्ध भएपछि पनि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति रोकिएको छैन । सडक अवरोधपछि वैकल्पिक मार्ग प्रयोग गरी पछिल्ला तीन दिनमा ८७ हजार ८७७ वटा ग्यास सिलिन्डर काठमाडौं भित्र्याइएको छ ।

नेपाल आयल निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका ग्यास उद्योगबाट पुनः भरिएका सिलिन्डर विभिन्न वैकल्पिक सडकमार्फत उपत्यकामा ल्याइएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ वटा सिलिन्डर काठमाडौं ल्याइएको थियो ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ र एलपी ग्यास बोकेका ट्याङ्कर तथा बुलेटहरू बाटोमै रोकिएका थिए । भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको उक्त खण्डमा सडक अवरुद्ध भएपछि निगमले आपूर्ति व्यवस्था प्रभावित हुन नदिन तराईका विभिन्न उद्योगबाट भरिएका ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो ।
मुख्य राजमार्ग अवरुद्ध रहे पनि उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति नियमित राख्न निगमले वैकल्पिक सडकलाई प्राथमिकतामा राखेको जनाएको छ । ग्यासको आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत ग्यास उद्योग सञ्चालन गरी सिलिन्डर ‘रिफिलिङ’ तथा ढुवानी नरोक्न उद्योगहरूलाई निर्देशन दिइएको निगमले जनाएको छ ।

तर, निगमका अनुसार ठूलो संख्यामा ग्यास सिलिन्डर काठमाडौं भित्रिइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था कायमै छ । बजारमा पर्याप्त सिलिन्डर नदेखिँदा आपूर्ति प्रणालीप्रति उपभोक्ताको असन्तुष्टि बढेको छ ।
निगमले भने वैकल्पिक मार्गबाट ग्यासको आपूर्ति निरन्तर भइरहेकाले आगामी दिनमा बजारमा देखिएको अभाव क्रमशः सहज हुने जनाएको छ । मुख्य राजमार्गको अवरोधका कारण ढुवानीमा थप कठिनाइ भइरहेकाले आपूर्ति व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन वैकल्पिक मार्गबाट ढुवानीलाई निरन्तरता दिइने निगमको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend