काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका केही व्यक्तिसँग दोहोरो संवाद भएको जानकारी प्राप्त भएको छ। नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका महासचिव महेश कुँवरका अनुसार महासंघका एक प्रतिनिधिले २०८३ भदौ १९ गते बिहान फोनमार्फत सुरुङभित्र रहेका केही साथीहरूसँग दोहोरो संवाद भएको जानकारी दिएका हुन्।
महासचिव कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार सुरुङभित्रबाट सम्पर्कमा आएका व्यक्तिहरूले आफूहरू “ठीक छौँ” र “हामी धेरै छौँ” भनेको बताएका छन्।
घटनास्थलमा उद्धार कार्य जारी रहेका बेला सुरुङभित्र रहेका व्यक्तिहरूबाट सम्पर्क भएको भनिएको खबरले उनीहरूका परिवार, आफन्त तथा उद्धारमा संलग्न सबैमा आशाको सञ्चार गरेको छ। यद्यपि, सुरुङभित्र कति जना व्यक्ति छन् र उनीहरूको वास्तविक अवस्था के छ भन्ने विषयमा आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको अवस्थामा उद्धार टोलीले थप खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने देखिएको छ।
महासचिव कुँवरले विपद्को यस कठिन घडीमा सुरुङभित्र रहेका सबैको सकुशल उद्धारको कामना गर्दै भावुक शब्दमा “हे भगवान्, सबैको रक्षा गर्नुस्” भन्दै प्रार्थना गरेका छन्।
त्रिशूली क्षेत्रमा आएको प्राकृतिक विपद्पछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्र सम्पर्कविहीन रहेका व्यक्तिहरूको अवस्थाबारे प्रत्येक सूचना परिवार र सर्वसाधारणका लागि अत्यन्त संवेदनशील बनेको छ। यस्तो अवस्थामा उद्धार कार्यमा संलग्न निकायबीच प्रभावकारी समन्वय गर्दै उपलब्ध सबै प्रविधि र भारी उपकरणको अधिकतम प्रयोग गरी खोज तथा उद्धारलाई तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend