बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विपद्को सामना गर्न सबै दल एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

विपद्को सामना गर्न सबै दल एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौं । विपद्को सामना गर्न राजनीतिक दलहरूबीच एकता कायम गर्दै उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सहयोग गर्नुपर्ने सर्वदलीय बैठकले निष्कर्ष निकालेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

उनले पछिल्लो विपत्ति नेपालको कारणले मात्रै नभएको दाबी गर्दै विश्वव्यापी जलवायु परिवर्तन र विकसित मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारण नेपालजस्ता मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

‘यो विपत्ति नेपालको कारणले भएको होइ न। कार्बन उत्सर्जन गर्ने अन्य राष्ट्रका कारण हामीले यसको असर भोगिरहेका छौँ,’ शाहीले भने, ‘त्यसैले क्षतिपूर्तिसहितको दाबी अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म पुर्याउनुपर्छ ।’

उनका अनुसार नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिको अन्तर्राष्ट्रियस्तरमा क्षतिपूर्ति माग गर्न संसद्बाटै आवश्यक निर्णय गरेर अघि बढ्नुपर्ने विषय बैठकमा उठेको थियो ।

सर्वदलीय बैठकमा विपद्का कारण विभिन्न स्थानमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धारलाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको शाहीले बताए । विशेषगरी सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा फसेकाहरूको तत्काल उद्धार र प्रभावित नागरिकसम्म राहत पुर्याउने विषयमा दलहरूले जोड दिएका थिए ।

संकटको समयमा सरकारको आलोचना र राजनीतिक विभाजनभन्दा उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै शाहीले विपद् व्यवस्थापनमा सरकारलाई सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए ।

उनले विपद् व्यवस्थापन प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । संघीय सरकारले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहजीकरण गर्दै उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend