बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

NAIMA द्वारा रसुवा बाढी प्रभावितका लागि रु. ५० लाख सहयोग

NAIMA द्वारा रसुवा बाढी प्रभावितका लागि रु. ५० लाख सहयोग

काठमाडौं  । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।

साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै NAIMA ले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।  यस विपदको घडीमा आफ्ना सदस्य संस्थाहरुले गरेको सहयोगको पनि नाइमाले प्रशंसा गरेको छ । विपद्को सुरुवातदेखि नै NAIMA का सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्‍याउँदै आएका छन्।

NAIMA ले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको अध्यक्ष ऋतु सिंह वैद्यले बताउनुभयो । “यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो। यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुन:स्थापनालाई प्रभावकारी बनाउन सक्छ,” उहाँले भन्नुभयो ।

खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघ–संस्थाप्रति उच्च सम्मान व्यक्त गर्दै NAIMA ले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend