बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विपद्को घडीमा जनताको साथमा उभिन नेपाली कम्युनिस्ट पार्टीको निर्देशन

विपद्को घडीमा जनताको साथमा उभिन नेपाली कम्युनिस्ट पार्टीको निर्देशन

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन संघीय सम्पर्क समिति, लुम्बिनी प्रदेशको बैठक  आइतवार   सम्पन्न  भएको  थियो ।  बैठकमा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा परेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित नागरिकको साथमा उभिने, राहत संकलन तथा वितरण गर्ने, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्‍याउने विषयमा गम्भीर छलफल भएको थियो।बैठकमा नेपाली कम्युनिस्ट पार्टीका  नेता तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे, विशेष अतिथि मानबहादुर बुढामगर, लुम्बिनी सम्पर्क समन्वय समितिकी इन्चार्ज गीता गौत्रा, केन्द्रीय सदस्य रीता कोइराला लगायतका नेताहरूले निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो।

सम्बोधनका क्रममा नेताहरूले जनताको दुःखलाई आफ्नै दुःख सम्झनु, पीडितको आँसुमा साथ दिनु र संकटको समयमा जनताको घरदैलोमा पुग्नु नै जनमुखी राजनीतिको वास्तविक पहिचान भएको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीले विगतदेखि नै गरिब, निमुखा, श्रमजीवी, शोषित तथा पीडित जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै अहिलेको विपद्मा पनि पार्टीका नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर मानवीय सेवामा जुट्न निर्देशन दिनुभयो।

रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लाका नागरिकको पीडालाई गम्भीरतापूर्वक लिँदै राहत संकलन, वितरण, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सक्रियतापूर्वक परिचालित हुन नेताहरूले निर्देशन दिनुभयो।नेतृत्वबाट प्राप्त निर्देशनलाई आत्मसात् गर्दै संघीय सम्पर्क समिति, लुम्बिनी प्रदेशले प्रभावित जनताको साथमा उभिने, राहत संकलन तथा वितरणमा सक्रिय सहभागिता जनाउने र पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।जनताको सुखमा खुशी र दुःखमा साथ—यही भावनालाई आत्मसात् गर्दै नेपाली कम्युनिस्ट पार्टी जनताको पीडामा मल्हम लगाउन र संकटमा सहारा बन्न प्रतिबद्ध छ।
बैठकमा सहभागी एक प्रदेश सदस्यका अनुसार बैठक अत्यन्तै हार्दिक, प्रतिबद्धतापूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो। उहाँले विपद्को यस कठिन घडीमा पार्टीको निर्देशनअनुसार राहत संकलन तथा सहयोगका कार्यमा सम्पूर्ण नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिनुभयो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend