बागलुङ । विपद्का कारण देश शोक र पीडामा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि टेकबहादुर पुनले दुःखको यस घडीमा सबै राजनीतिक दल, नेता तथा नागरिक एकताबद्ध भएर उद्धार, राहत र पीडितको सहयोगमा जुट्नुपर्ने बताएका छन्।
उनले विपद्को कठिन परिस्थितिमा नेपाल सरकारका सम्पूर्ण संयन्त्र उद्धार, राहत तथा खोजी कार्यमा परिचालित रहेको उल्लेख गर्दै हजारौं नागरिकको उद्धार भइरहेको बताएका छन्। देश तथा विदेशमा रहेका मनकारी नेपालीहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलगायत विभिन्न माध्यमबाट आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराइरहेको भन्दै उनले सहयोगी सबैप्रति सम्मान व्यक्त गरेका छन्।
यहीबीच, मिति २०८३ भदौ १३ गते गण्डकी प्रदेशको बागलुङ जिल्ला, गल्कोट नगरपालिका–१० पाण्डवखानीका नेपाली कम्युनिस्ट पार्टीका जिल्ला सदस्य छम काउचा तथा नेपाली कांग्रेसबाट गल्कोट नगरपालिका–१० का निर्वाचित वडा सदस्य अर्चना श्रीस राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
रास्वपा प्रवेश गरेका दुवै जनालाई पुनले व्यक्तिगत रूपमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला समिति, क्षेत्रीय समिति, पालिका समिति र सम्पूर्ण वडा समितिका तर्फबाट स्वागत गरेका छन्। उनले उनीहरूको आगामी राजनीतिक यात्राको सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।
पुनले विपद्को यस संवेदनशील घडीमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर पीडित नागरिकको घाउमा मलम लगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
“विपद्को यस घडीमा हाम्रो प्राथमिकता राजनीति होइन—मानवता, उद्धार, राहत र पीडित नागरिकको साथ हो,” उनले भने।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend