काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भएको ठूलो मानवीय विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै एमएडब्लू ग्रुपले प्रभावित परिवार तथा समुदायको सहयोगका लागि प्रधानमन्त्री दैविक उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ उपलब्ध गराएको छ।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष तथा उद्योगपति बिष्णु अग्रवालले विपद्को यस कठिन घडीमा पीडित नागरिकसँगै उभिनु सबैको सामाजिक दायित्व भएको बताएका छन्। उनले एमएडब्लू ग्रुपका तर्फबाट उक्त रकम तत्काल उपलब्ध गराइएको जानकारी दिएका हुन्।
अग्रवालले भोटेकोशी क्षेत्रमा भएको विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“भोटेकोशीमा भएको ठूलो मानवीय विपत्तिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। प्रभावित परिवार तथा समुदायको सहयोगका लागि प्रधानमन्त्री दैविक उद्धार कोषमा एमएडब्लू ग्रुपका तर्फबाट १ करोड ११ लाख रुपैयाँ तत्काल उपलब्ध गराएका छौं,” अग्रवालले भने।
उनले प्राकृतिक विपत्तिको पीडामा परेका नागरिकलाई सहयोग गर्नु केवल मानवीय कर्तव्य मात्र नभई समाजप्रतिको जिम्मेवारी पनि भएको उल्लेख गरे। प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत वितरण तथा दीर्घकालीन पुनःस्थापनामा राज्यसँगै निजी क्षेत्र र सम्पूर्ण समाज एकजुट हुनुपर्ने उनको भनाइ छ।
एमएडब्लू ग्रुपले विपद्पीडित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन आवश्यक पर्ने सहयोगमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर साथ दिने जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend