काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पिकअप, मिनी ट्रक लगायतका सवारी साधन उपलब्ध गराउन आफ्ना सदस्यहरूसँग आग्रह गरेको छ।
महासंघले जारी गरेको पत्रमा चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै विपद्को यस घडीमा पीडितको सहयोग गर्नु सबैको साझा दायित्व र मानवीय कर्तव्य भएको जनाएको छ।
बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानमा तत्काल आवश्यक राहत सामग्री पुर्याउन तथा हजारौं बाढीपीडितको उद्धार गरी सुरक्षित गन्तव्यसम्म पुर्याउन पिकअप, मिनी ट्रक तथा अन्य आवश्यक सवारी साधन उपलब्ध गराउन महासंघले अनुरोध गरेको हो।
महासंघले पूर्वाधार विकास मन्त्रालयसँग आवश्यक समन्वय गरी ती सवारी साधनहरू मानवीय उद्धार तथा राहत कार्यमा परिचालन गरिने जनाएको छ। यसका लागि महासंघका महासचिव शिवहरि घिमिरे, नीतिगत उपमहासचिव मंगलबहादुर शाही, कार्यालय प्रमुख प्रेमसिंह ऐर तथा ‘हेल्लो महासंघ’का अभिनय दाहालसँग सम्पर्क गर्न सदस्यहरूलाई आग्रह गरिएको छ।
महासंघका महासचिव शिवहरि घिमिरेद्वारा जारी पत्रमा विपद्को गम्भीर अवस्थामा निजी क्षेत्र, व्यवसायी तथा सम्पूर्ण सरोकारवाला पक्षले आफ्नो क्षमता अनुसार सहयोगमा जुट्नुपर्नेमा जोड दिइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend