बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भोटेकोशी बाढीपीडितको उद्धार–राहतमा हेभी इक्विपमेन्ट परिचालन गर्न महासंघ तयार छः महासचिव महेश कुँवर

भोटेकोशी बाढीपीडितको उद्धार–राहतमा हेभी इक्विपमेन्ट परिचालन गर्न महासंघ तयार छः महासचिव महेश कुँवर

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक हेभी इक्विपमेन्ट, सवारीसाधन र प्राविधिक जनशक्ति परिचालन गर्न तयार रहेको जनाएको छ।

महासंघका महासचिव महेश कुँवरद्वारा जारी प्रेस विज्ञप्तिमा चीनको तिब्बततर्फको उच्च हिमाली क्षेत्रमा हिमपहिरो तथा हिमचट्टान खस्ने घटनापछि आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासी पूर्वलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गरिएको छ।

बाढीबाट टिमुरे, रसुवागढी, स्याफ्रुबेंसी, हाकुबेसी, मैलुङ, बेत्रावती, विदुर, ढुंगे, गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी, सिद्धलेक, शहीद लखन तथा गण्डकी गाउँपालिकालगायत क्षेत्र प्रभावित भएको महासंघले जनाएको छ।

विज्ञप्तिअनुसार प्रारम्भिक विवरणमा १५७ भन्दा बढीको मृत्यु भएको, सयौं मानिस सम्पर्कविहीन रहेको तथा २८ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन भएको उल्लेख छ। नेपाली तथा विदेशी गरी ४०३ पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरण महासंघले सार्वजनिक गरेको छ।

बाढीका कारण घर, होटल, पसल, सवारीसाधन तथा व्यापारिक सामग्रीका साथै सडक, पुल, भन्सार, विद्युत् र सञ्चार संरचनामा समेत ठूलो क्षति पुगेको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार करिब ४० किलोमिटर सडकमा क्षति पुगेको र १९ वटा मोटरेबल पुल बग्नुका साथै क्षतिग्रस्त भएका छन्। यस्तै, जलविद्युत् क्षेत्रमा १४ वटा आयोजना तथा करिब ७४८ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन्।

महासंघले बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार, घाइतेको प्रभावकारी उपचार, प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःनिर्माण गर्न सरकार, स्थानीय तह र सुरक्षा निकायसँग हार्दिक अपिल गरेको छ।

साथै महासंघमा आबद्ध सम्पूर्ण व्यवसायी, जिल्ला संघ तथा सम्बन्धित संघसंस्थालाई आर्थिक, भौतिक र प्राविधिक सहयोग जुटाएर प्रभावित क्षेत्रमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ। आवश्यकता र सम्बन्धित निकायसँगको समन्वयका आधारमा उपलब्ध हेभी इक्विपमेन्ट, सवारीसाधन तथा प्राविधिक जनशक्तिलाई उद्धार, राहत र पुनःनिर्माण कार्यमा परिचालन गर्न महासंघ तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले मौसम तथा बाढीजन्य जोखिम अझै कायम रहेकाले प्रभावित र जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।

दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै महासंघले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै बेपत्ता नागरिकको शीघ्र उद्धार र घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend