काठमाडौं । भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले समिति गठन गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको महासंघको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारीसाधनको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा सदस्यीय समिति गठन गरेको हो।
समितिको सदस्यमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरीलगायत रहेका छन्। समितिले बेपत्ता भएका सवारीसाधन, व्यवसायी, मजदुरको अवस्था पत्ता लगाउनेछ। यस्तै, यात्रीहरूको अवस्था र क्षतिको विवरण सङ्कलन गर्नेछ।
बाढी प्रभावित क्षेत्रमा व्यवसायी, मजदुर वा यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न महासंघका महासचिव डेकनाथ गौतमले अनुरोध गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend