आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा एकजुट हुन हरिचरण साहको अपिल

भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा एकजुट हुन हरिचरण साहको अपिल

काठमाडौं । नेपाली जनता दलले रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते बिहान तिब्बती क्षेत्रबाट आएको विनाशकारी बाढीबाट चीन र नेपाल दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टीका राष्ट्रिय अध्यक्ष तथा सभासद् हरिचरण साहले जारी गरेको प्रेस वक्तव्यमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्ष एकजुट भएर लाग्न अपिल गरिएको छ।

राष्ट्रिय अध्यक्ष साहका अनुसार बाढीका कारण स्थानीय नागरिकका साथै नेपाली तथा विदेशी पर्यटक, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी तथा विभिन्न सरकारी र निजी क्षेत्रमा कार्यरत व्यक्तिसमेत प्रभावित भएका छन्। बाढीमा परी ठूलो जनधनको क्षति भएको र धेरै व्यक्ति बेपत्ता भएको उल्लेख गर्दै पार्टीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रेस वक्तव्यमा बाढीले निजी घर, बजार, सरकारी कार्यालय, भन्सार, प्रहरी कार्यालय, विद्यालय, बैंक, सडक, पुल तथा विद्युत् परियोजनालगायत विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको जनाइएको छ। विशेषगरी रसुवा, नुवाकोट र धादिङ क्षेत्र महाविनाशकारी बाढीबाट गम्भीर रूपमा प्रभावित भएको पार्टीले जनाएको छ।

नेपाली जनता दलले बाढीमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको यथाशीघ्र र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

राष्ट्रिय अध्यक्ष तथा सभासद् साहले प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय नागरिकको सक्रियतामा भइरहेको राहत तथा उद्धार कार्य प्रशंसनीय रहेको बताएका छन्। बाढीको लेदोमा मानिस पुरिएको वा नदी किनार तथा आसपासका क्षेत्रमा बगाएर पुर्‍याइएको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन्।

पार्टीले उद्धार गरिएका तथा विस्थापित नागरिकका लागि सुरक्षित बसोबास, पर्याप्त खानपान, स्वास्थ्य उपचार तथा आवश्यक राहत सामग्रीको तत्काल व्यवस्था गर्न सरकारसँग अपिल गरेको छ। विपद्पीडित नागरिकलाई राहत वितरणमा कुनै ढिलासुस्ती वा विभेद हुन नहुने र प्रभावित सबै नागरिकसम्म राज्यको सहयोग पुग्नुपर्ने पार्टीको धारणा छ।

विपद्को यस्तो गम्भीर घडीमा आपसी राजनीतिक मतभेदलाई थाती राखेर सबै राजनीतिक दल, सरकार, सामाजिक संघसंस्था र नागरिक एकजुट हुनुपर्ने नेपाली जनता दलले जनाएको छ। पार्टीले राहत, उद्धार र पुनर्स्थापनालाई मानवीय कर्तव्य, जिम्मेवारी र दायित्वका रूपमा ग्रहण गर्न सबैमा अपिल गरेको छ।

राष्ट्रिय अध्यक्ष साहले नेपाली जनता दलका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई समेत प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सक्रियतापूर्वक जुट्न आग्रह गरेका छन्। पार्टीले विपद्पीडित नागरिकको सहयोगका लागि आफ्नो तर्फबाट एकजुट भएर आवश्यक सहयोग गर्ने दृढ संकल्पसमेत व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend