काठमाडौं । नेपाली जनता दलले रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते बिहान तिब्बती क्षेत्रबाट आएको विनाशकारी बाढीबाट चीन र नेपाल दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका कार्यकारी अध्यक्ष नवराज सुवेदीले जारी गरेको प्रेस वक्तव्यमा बाढीका कारण स्थानीय नागरिक, नेपाली तथा विदेशी पर्यटक, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी तथा विभिन्न सरकारी र निजी क्षेत्रमा कार्यरत व्यक्तिसमेत प्रभावित भएको उल्लेख गरिएको छ। बाढीमा परी ठूलो संख्यामा जनधनको क्षति भएको तथा धेरै व्यक्ति बेपत्ता भएको भन्दै पार्टीले प्रभावित क्षेत्रको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेको छ।
वक्तव्यअनुसार बाढीले निजी घर, बजार, सरकारी कार्यालय, भन्सार, प्रहरी कार्यालय, विद्यालय, बैंक, सडक, पुल तथा विद्युत् परियोजनासहितका विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको छ। विशेषगरी रसुवा, नुवाकोट र धादिङ क्षेत्र महाविनाशकारी बाढीबाट गम्भीर रूपमा प्रभावित भएको पार्टीले जनाएको छ।
नेपाली जनता दलले बाढीमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेलाई यथाशीघ्र र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पार्टीले प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकबाट भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय रहेको जनाएको छ। बाढीको लेदोमा मानिस पुरिएको वा नदी किनार तथा आसपासका क्षेत्रमा बगाएर पुर्याइएको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिइएको छ।
उद्धार गरिएका तथा विस्थापित नागरिकका लागि सुरक्षित बसोबास, पर्याप्त खानपान, स्वास्थ्य उपचार तथा आवश्यक राहत सामग्रीको तत्काल व्यवस्था गर्न सरकारसँग अपील गरिएको छ।
विपद्को यस्तो गम्भीर समयमा आपसी मतभेदलाई थाती राखेर सबै राजनीतिक दल, सरकार, सामाजिक संघसंस्था र नागरिक एकजुट हुनुपर्ने नेपाली जनता दलको धारणा छ। पार्टीले राहत, उद्धार र पुनर्स्थापनालाई मानवीय कर्तव्य, जिम्मेवारी र दायित्वका रूपमा ग्रहण गर्न सबैमा अपील गरेको छ।
कार्यकारी अध्यक्ष सुवेदीले नेपाली जनता दलका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पनि प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सक्रियतापूर्वक जुट्न आग्रह गरेका छन्। पार्टीले विपद्पीडित नागरिकको सहयोगका लागि आफ्नो तर्फबाट एकजुट भएर आवश्यक सहयोग गर्ने दृढ संकल्पसमेत व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend