काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, खानपिन तथा अस्थायी बसोबासको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाएका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले रसुवामा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन्। उनले प्राकृतिक विपद्को यो अप्रत्याशित घटनाले सिंगो देशलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्।
बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। पीडामा रहेका परिवारलाई राज्य र सम्पूर्ण देशवासीको साथ रहेको उनको भनाइ छ।
‘तपाईंहरूको यो असह्य पीडामा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौं,’ प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। उनले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अहिले सरकारको सबैभन्दा पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताएका छन्। घाइतेको उपचार, बेपत्ता व्यक्तिको खोजी तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहका अनुसार विपद् लगत्तै राज्यका विभिन्न सुरक्षा तथा उद्धार निकाय हजारौंको संख्यामा प्रभावित क्षेत्रमा परिचालन भइसकेका छन्। उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकसम्म आवश्यक सहयोग पुर्याउने काम भइरहेको उनले बताएका छन्।
प्रभावित नागरिकलाई धैर्य नहार्न आग्रह गर्दै प्रधानमन्त्री शाहले यो कठिन परिस्थितिमा कोही पनि एक्लो नभएको सन्देश दिएका छन्। उनले राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ पीडित नागरिकको साथमा रहेको स्पष्ट पारेका छन्।
‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,’ प्रधानमन्त्री शाहले भनेका छन्। प्रधानमन्त्रीले बाढी प्रभावितहरूको उद्धारदेखि उपचार, खानपिन र बसोबाससम्मको जिम्मेवारी सरकारले लिने दोहोर्याउँदै विपद्को यस घडीमा सबै नागरिकलाई एकताबद्ध हुन आग्रह गरेका छन्। उनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, सुरक्षा निकाय, स्थानीय समुदाय र सम्पूर्ण नागरिक एक ढिक्का भएर अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन्।
रसुवामा आएको बाढीबाट भएको क्षतिको विवरण संकलन, बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाएको प्रधानमन्त्री शाहले बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend