काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त पदमा करार सेवामार्फत कर्मचारी पदपूर्ति गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले रक्षक, सिपाही, सवारी चालक, डिस्पेन्सरी तथा कार्यालय सहयोगी पदमा कुल ३४ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।
बैंकले प्रकाशित गरेको सूचनाअनुसार रक्षक १ जना, सिपाही ४ जना, हलुका सवारी चालक ७ जना, बस चालक ३ जना, डिस्पेन्सरी २ जना र कार्यालय सहयोगी १७ जना माग गरिएको छ ।
रक्षक पदका लागि एसईई वा सोसरह उत्तीर्ण गरी नेपाली सेनाबाट जमदार वा सुवेदार पदबाट निवृत्त भएको हुनुपर्नेछ। सिपाही पदका लागि कक्षा ८ उत्तीर्ण गरी नेपाली सेनाबाट हुड्डा, अमलदार, प्युठ वा सिपाही पदबाट निवृत्त भएको हुनुपर्ने बैंकले जनाएको छ ।
त्यस्तै, हलुका सवारी चालकका लागि कक्षा ८ उत्तीर्ण, कार वा जिप चलाएको सात वर्षको अनुभव तथा सम्बन्धित निकायबाट प्राप्त सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ। बस चालकका लागि कक्षा ८ उत्तीर्ण गरी ट्रक वा बस चलाएको सात वर्षको अनुभव र नवीकरण भएको सवारी चालक अनुमतिपत्र हुनुपर्नेछ ।
डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरी कम्तीमा पाँच वर्षको कार्यअनुभव आवश्यक छ। कार्यालय सहयोगी पदका लागि कक्षा ८ उत्तीर्ण गरी सरकारी वा वित्तीय संस्थामा कार्यालय सहयोगीको रूपमा काम गरेको र निवृत्तिभरण प्राप्त गरिरहेको हुनुपर्नेछ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गतेदेखि भदौ २३ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् । आवेदन नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘करियर’ अन्तर्गतको ‘करार आवेदनका लागि अनलाइन दरखास्त’ बाट पेस गर्नुपर्नेछ । बैंकले तोकिएको योग्यता पूरा गरेका उम्मेदवारलाई निर्धारित समयभित्र आवेदन पेस गर्न आग्रह गरेको छ ।


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend