आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदन परिमार्जनसहित पारित

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदन परिमार्जनसहित पारित

khabarbreaking

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा गत शुक्रबारदेखि जारी भेलामा शनिबार विभिन्न पाँचवटा महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गरिएको थियो।

भेलाले पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव, एनपी साउदको समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव तथा रमेश लेखकको कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित गरेको हो।

प्रस्तावमाथि सहभागी प्रतिनिधिहरूलाई विभिन्न विषय तथा प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गराइएको थियो। समूहगत छलफलका क्रममा सहभागीहरूले पार्टीको राजनीतिक दिशा, सांगठनिक अवस्था, समसामयिक नीति, आर्थिक नीति तथा कानुन र विधानसँग सम्बन्धित विषयमा आफ्ना सुझाव तथा संशोधन प्रस्ताव राखेका थिए।

समूहगत छलफलपछि टोली नेताहरूले प्रस्तावमा थप गर्नुपर्ने तथा संशोधन गर्नुपर्ने विषयबारे भेलामा जानकारी गराएका थिए। प्रतिनिधिहरूबाट प्राप्त सुझावमाथि सम्बन्धित प्रस्ताव प्रस्तुतकर्ताहरूले जवाफ दिएपछि आवश्यक संशोधन तथा परिमार्जन गरी पाँचवटै प्रतिवेदन पारित गरिएको हो।

भेलामा पारित प्रतिवेदनहरूले नेपाली कांग्रेसको वर्तमान राजनीतिक तथा सांगठनिक अवस्थाको समीक्षा गर्दै आगामी दिनमा पार्टीलाई थप प्रभावकारी, सुदृढ र जनमुखी बनाउने विषयमा जोड दिएका छन्। त्यस्तै, मुलुकको समसामयिक राजनीतिक परिस्थिति, आर्थिक नीति तथा पार्टीको कानुनी र विधानगत व्यवस्थाबारे पनि प्रतिवेदनमा विभिन्न प्रस्ताव अघि सारिएको छ।

संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई कांग्रेसभित्रको आन्तरिक बहस, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भेलाबाट पारित प्रतिवेदनले पार्टीको नीति, संगठन र आगामी कार्यदिशाबारे समूहको धारणा थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend