मंगलबार, साउन २६ २०८३

मंगलबार, साउन २६ २०८३

होस्टल व्यवसायी संघ नेपालको चौथो वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम सम्पन्न

होस्टल व्यवसायी संघ नेपालको चौथो वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । होस्टल व्यवसायी संघ नेपालको चौथो वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संघले सोमबार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा विभिन्न कार्यक्रमसहित चौथो वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सवको अवसरमा बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। त्यसपछि दिउँसो १२ः३० बजे औपचारिक वार्षिकोत्सव कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा होस्टल व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख दीपक अधिकारी रहेका थिए। कार्यक्रममा उनले होस्टल व्यवसायले विद्यार्थी तथा सेवाग्राहीलाई सुरक्षित र व्यवस्थित आवासको सुविधा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए। व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकाय तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रमको सभापतित्व होस्टल व्यवसायी संघ नेपालका अध्यक्ष किरण शर्मा पंगेनीले गरेका थिए। अध्यक्ष पंगेनीले संघले स्थापना कालदेखि नै होस्टल व्यवसायीहरूको हकहितसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको बताए। रक्तदानजस्तो मानवीय सेवाको कार्यक्रमलाई वार्षिकोत्सवसँग जोडेर आयोजना गरिएको उनले बताए।

वार्षिकोत्सवका अवसरमा संघका पूर्व पदाधिकारीहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो। संघको विकास र संस्थागत यात्रामा योगदान पुर्‍याएका पूर्व पदाधिकारीहरूको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरिएको हो।

कार्यक्रमको सञ्चालन संघका महासचिव देवराज कँडेलले गरेका थिए। वार्षिकोत्सव तथा रक्तदान कार्यक्रमले संघको संस्थागत एकता, सामाजिक उत्तरदायित्व र व्यवसायीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend