आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बन्दीपुर सामाजिक विकास समितिको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

बन्दीपुर सामाजिक विकास समितिको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बन्दीपुर सामाजिक विकास समितिको ३४औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष यादव लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक समिति संयोजक चिजकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा पूर्व अध्यक्ष तथा महिला उपसमिति पूर्व संयोजक श्रीमती सत्यप्रधान श्रेष्ठलगायत समितिका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा एक मिनेट मौनधारणबाट गरिएको थियो। त्यसपछि प्रमुख अतिथि चिजकुमार श्रेष्ठ र सभापति यादव लाल श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्वलन गरी साधारण सभाको औपचारिक उद्घाटन गरेका थिए।

सभामा समितिकी वरिष्ठ उपाध्यक्ष श्रीमती रेखा श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाले सामाजिक विकास, समुदायको हित तथा आपसी एकता र सहकार्यका क्षेत्रमा गर्दै आएको योगदानबारे चर्चा गरिन्।

साधारण सभामा महासचिव विश्वलाल प्रधानले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमार्फत समितिले अघिल्लो अवधिमा सञ्चालन गरेका विभिन्न सामाजिक तथा संस्थागत गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराइएको थियो।

त्यस्तै, कोषाध्यक्ष आशुतोष प्रधानले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक अवस्था, आय–व्यय तथा आगामी आर्थिक योजनाबारे सभालाई जानकारी गराए।

सभामा संस्थाको आगामी कार्यदिशा, सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा समुदायसँगको सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ। साधारण सभाले संस्थाको संस्थागत विकास र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend