आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

पत्रकारको आवरणमा लागूऔषध कारोबार गरेको आरोपमा तीन जना पक्राउ

पत्रकारको आवरणमा लागूऔषध कारोबार गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । पत्रकारको आवरणमा लागूऔषध कारोबार गरेको आरोपमा ४४ दशमलव ३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार साउन २० गते सिन्धुलीको दुधौली नगरपालिका–९ मा सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शंकाको आधारमा रोकी जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।

पक्राउ पर्नेमा कार चालक सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ निवासी २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० निवासी ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ निवासी २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार उमेश कुमार यादव ’जनजागरण खबर’ नामक सञ्चारमाध्यममा न्युज रिपोर्टरका रूपमा आबद्ध रहेको खुलेको छ। बरामद कार उनले काठमाडौंस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend