काठमाडौँ । बजारमा बढ्दो अनियमितता नियन्त्रण गर्ने अभियानलाई तीव्र बनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार काठमाडौँ उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा खरिद बिल नराख्ने तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गर्ने दुई फर्मलाई नगद जरिवाना गरिएको छ भने अन्य केही व्यवसायलाई सुधारात्मक निर्देशन र स्पष्टीकरणका लागि विभागमा उपस्थित हुन आदेश दिइएको छ।
विभागका अनुसार ललितपुर महानगरपालिका–२० स्थित न्यू डाइमण्ड फर्निचर सेन्टरमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ अनुसार आवश्यक खरिद बिल नराखिएको भेटिएपछि रु १० हजार जरिवाना गरिएको हो। त्यसैगरी, काठमाडौँको गोङ्गबुस्थित अजिमा चस्मा घरलाई पनि नियम उल्लङ्घन गरेको भन्दै रु पाँच हजार जरिवाना गरिएको छ।
अनुगमनका क्रममा साइबाबा ग्यास उद्योग, कलङ्कीलाई उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास प्राप्त गर्ने वातावरण बनाउन निर्देशन दिइएको छ। यस्तै, चन्द्र विनायक ग्यास स्टोर, चाबहिललाई नियमित रूपमा ग्यास वितरण गर्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न विभागले सचेत गराएको छ।
त्यसैगरी, कोलोनी प्रोडक्सन एन्ड सप्लायर्स र अमन ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अन्य केही फर्मलाई भने कानुनी व्यवस्था पालना गर्न सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।
विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक कारबाही तथा निर्देशन जारी गरिएको हो। उपभोक्ताको हित संरक्षण, बजारलाई पारदर्शी बनाउने र कालाबजारी नियन्त्रण गर्ने उद्देश्यले उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमनलाई निरन्तरता दिइने विभागले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend