काठमाडौं । नेपाली सहकारी क्षेत्रमाथि विभिन्न विवाद र नकारात्मक टिप्पणी भइरहेका बेला चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) ले विश्व ऋण परिषद् (WOCCU) बाट प्राप्त ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ लाई नेपालको सहकारी अभियानकै ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। संस्थाले यो सम्मानले अन्तर्राष्ट्रिय स्तरमा नेपाली बचत तथा ऋण सहकारीको विश्वसनीयता र डिजिटल क्षमतालाई स्थापित गरेको दाबी गरेको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संस्थाले अष्ट्रेलियाको सिड्नीमा सम्पन्न अन्तर्राष्ट्रिय क्रेडिट युनियन सम्मेलन–२०२६ अन्तर्गत जुलाई २१ मा आयोजित विश्व ऋण परिषद्को वार्षिक साधारणसभामा प्राप्त उक्त सम्मानबारे जानकारी गराउँदै डिजिटल सेवासँग सम्बन्धित दुई नयाँ प्रविधिमैत्री सेवा पनि सार्वजनिक गरेको हो।
संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले विश्वस्तरबाट प्राप्त सम्मानलाई विगतको उपलब्धिको उत्सव मात्र नभई भविष्यप्रतिको थप जिम्मेवारीका रूपमा लिएको बताउनुभयो। परम्परागत सहकारी मूल्यलाई आधुनिक प्रविधिसँग जोड्दै सदस्यलाई अझ सहज, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता थियो। उहाँले उक्त सम्मान संस्थाका सदस्य, सञ्चालक समिति, कर्मचारी, नेफ्स्कून, प्रविधि साझेदार तथा सहकारी अभियानसँग जोडिएका सम्पूर्ण सरोकारवालाको साझा उपलब्धि भएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरिले प्राप्त गरेको सम्मान कुनै एक संस्थाको मात्र नभई सम्पूर्ण नेपाली सहकारी अभियानको गौरव भएको बताउनुभयो। उहाँका अनुसार अवार्ड प्राप्त गरेपछि विभिन्न देशका सहकारी तथा म्युचुअल बैंकका प्रतिनिधिहरूले नेपाली सहकारी अभियानप्रति थप चासो र सम्मान व्यक्त गरेका छन्। “चन्द्रागिरिले पहिलोपटक इतिहास बनाएको छ, यो नेपाली सहकारी आन्दोलनको नयाँ सुरुवात हो,” उहाँले भन्नुभयो।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले पनि डिजिटल नवप्रवर्तनका कारण विश्वस्तरमा नेपाली सहकारीले नयाँ पहिचान बनाएको उल्लेख गर्नुभयो। नेफ्स्कूनले सन् २००६ देखि डिजिटल रूपान्तरणको अभियान अघि बढाएको स्मरण गर्दै उहाँले चन्द्रागिरि साकोसले प्रविधिमार्फत सदस्य सेवामा गरेको नवप्रयोगकै मूल्यांकनस्वरूप यो सम्मान प्राप्त भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार अब चन्द्रागिरिमाथि अझ उत्कृष्ट सेवा र नयाँ प्रविधि विकास गर्ने जिम्मेवारी थपिएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले विभिन्न कानुनी र नीतिगत चुनौतीका बीच पनि डिजिटल सेवा विस्तारमा संस्थाले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँका अनुसार चन्द्रागिरि साकोसको अहिले ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको छ भने करिब २४ हजार सदस्यमध्ये झण्डै आधाले मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन्। संस्थाका करिब ४० प्रतिशत सदस्य युवा रहेको जानकारी दिँदै उहाँले डिजिटल रूपान्तरणले भविष्यमा युवा नेतृत्व विकासको आधार तयार गरिरहेको बताउनुभयो।

श्रेष्ठले सहकारी क्षेत्रलाई गलत अभ्याससँग मात्र जोडेर हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै राम्रो काम गर्ने सहकारीहरूको उदाहरण पनि समाजमा पुग्नुपर्ने बताउनुभयो। “हामीले प्राप्त गरेको अन्तर्राष्ट्रिय सम्मानले नेपाली सहकारीमा पनि सुशासन, नवप्रवर्तन र विश्वसनीय अभ्यास रहेको सन्देश विश्वभर फैलाउनेछ,” उहाँले भन्नुभयो।
चन्द्रागिरि साकोसले २५ वर्षको यात्रामा पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो विगत, वर्तमान र आगामी योजनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो। कार्यक्रममा संस्थाको डिजिटल रूपान्तरण यात्रा समेटिएको भिडियो समेत प्रदर्शन गरिएको थियो।
समुदायमा आधारित सदस्यकेन्द्रित संस्थाका रूपमा परिचित चन्द्रागिरि साकोसले वर्षभर काउन्टर सेवा, २४सै घण्टा डिजिटल कारोबार, मोबाइल बैंकिङ, एटीएम, क्यूआर सेवा, सामाजिक सुरक्षा कार्यक्रम, महिला समूह परिचालन, एम्बुलेन्स तथा शववाहन सेवासहितका विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
विश्व ऋण परिषद्ले विश्वभरका बचत तथा ऋण सहकारी संस्थाहरूमा डिजिटल नवप्रवर्तन र सदस्यमैत्री प्रविधिको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले सन् २०२१ देखि हरेक वर्ष डिजिटल ग्रोथ अवार्ड प्रदान गर्दै आएको छ। चन्द्रागिरि साकोस यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली बचत तथा ऋण सहकारी संस्था बनेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend