काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन व्यवसायीहरू तयार रहेको बताएका छन ।
सोमबार काठमाडौंमा आयोजित वागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले व्यवसायीहरू प्रविधि अपनाउन सकारात्मक भए पनि सरकारले स्पष्ट कार्यविधि नबनाएका कारण कार्यान्वयनमा केही ढिलाइ भएको बताए ।
उनले जीपीएस प्रणालीलगायत प्रविधि जडानका लागि आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढेको भए पनि प्रविधिको लागत महँगो भएकाले त्यसबारे सरकारसँग स्पष्ट रूपमा कुरा राखिएको जानकारी दिए ।
आवश्यक निर्णय हुनेबित्तिकै यातायात क्षेत्रलाई प्रविधिमा लैजान महासंघ तयार रहेको उनले बताए । प्रविधिमैत्री यातायातका लागि सम्बन्धित मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल र पहल भइरहेको उनको भनाइ थियो ।
व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग समेत भेटघाटको समय माग गरिएको जानकारी दिँदै सिटौलाले वर्तमान राजनीतिक परिस्थितिका कारण केही ढिलाइ भए पनि महासंघले निरन्तर पहल गरिरहेको बताए ।
मिडियामा प्रचारबाजी गर्नुभन्दा ठोस उपलब्धिका लागि महासंघले जिम्मेवारीपूर्वक काम गरिरहेको दाबी गर्दै उनले आगामी एक महिनाभित्र यातायात क्षेत्रमा केही महत्वपूर्ण सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे ।
देशभर महासंघका प्रदेश, जिल्ला, विभिन्न संघसंस्था, कम्पनी तथा प्रालिहरू सकारात्मक सोच र उच्च ऊर्जाका साथ व्यवसायीको हकहितमा सक्रिय रहेको पनि अध्यक्ष सिटौलाले बताए ।
उनले यातायात क्षेत्रका देखिएका समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गर्दै महासंघका सबै तहका पदाधिकारी तथा व्यवसायीलाई जिम्मेवार ढङ्गले अघि बढ्न आग्रह गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend