बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनसरी घटनामा संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान

सुनसरी घटनामा संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताएका छन्। यस घटनाको छानबिन सुरु भइसकेको उल्लेख गर्दै उनले कसुरदारलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।

“सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो,” प्रधानमन्त्रीले भनेका छन्, “सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ।”

उनले नागरिकहरूलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गरेका छन्। मनमा रहेका रिस, डर र आक्रोशलाई हटाएर उत्तेजित हुने कुनै पनि कार्यमा सरिक नभई सुरक्षित र संयमित रहन उनले अनुरोध गरेका छन्।

“एकअर्कालाई प्रेम र सम्मान गरौँ, सामाजिक सद्भाव कायम राखौँ,” प्रधानमन्त्री शाहले अपिल गरेका छन्। साथै, घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend