सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो, किसान अझै लागत मूल्यभन्दा तल

बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो, किसान अझै लागत मूल्यभन्दा तल

काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो।

सङ्घका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ। त्यसैगरी मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट बढेर ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य ३६५ रुपैयाँबाट बढेर ४१५ रुपैयाँ कायम गरिएको छ। यसरी सबै वर्गका अण्डामा प्रतिक्रेट ५० रुपैयाँले मूल्य वृद्धि गरिएको सङ्घले जनाएको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण देशभर अण्डा उत्पादन उल्लेख्य रूपमा घटेको छ। दैनिक करिब ४५ लाख गोटा उत्पादन हुँदै आएको अण्डा अहिले घटेर करिब २८ लाख गोटामा सीमित भएको उनले बताए। उत्पादनमा आएको कमीका बीच बजारमा अण्डाको माग बढ्न थालेपछि मूल्य पनि क्रमशः उकालो लागेको उनको भनाइ छ।

उनका अनुसार जेठ महिनाको अन्त्यतिर एक क्रेट अण्डाको मूल्य ५५० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि माग घट्दा मूल्य घटेर ४५० रुपैयाँमा झरेको थियो। अहिले पुनः माग बढ्न थालेपछि मूल्यमा सुधार देखिएको हो।

यद्यपि मूल्य बढे पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य पाउन नसकेको अध्यक्ष पोखरेलले बताए। उनका अनुसार एक क्रेट अण्डा उत्पादन गर्न करिब ५७३ रुपैयाँ ६० पैसा लागत पर्ने गरेको छ, अर्थात् प्रतिगोटा करिब १९ रुपैयाँ १२ पैसा लागत लाग्छ। हाल कायम गरिएको मूल्यले किसानलाई केही राहत पुगे पनि अझै लागत उठ्ने अवस्था नरहेको उनले स्पष्ट पारे।

अध्यक्ष पोखरेलले बजारको अवस्था सुधार हुँदै गएकाले आगामी दिनमा किसानले लागत मूल्य प्राप्त गर्ने आशा व्यक्त गरे। साथै बर्डफ्लुका कारण कुखुरापालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेकाले प्रभावित किसानलाई सरकारले राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने माग पनि उनले गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend