काठमाडौं । सांसदहरूले स्वकीय सचिव राख्ने विषयमा भइरहेको बहसका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला कार्यसमिति सदस्य टेकबहादुर पुन मगरले वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै नयाँ सुविधा थप्ने निर्णयप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुन मगरले सांसदका लागि स्वकीय सचिव राख्ने व्यवस्था संसदको कामलाई थप प्रभावकारी बनाउने, जिम्मेवारी स्पष्ट हुने, नियुक्ति प्रक्रिया पारदर्शी रहने र त्यसबाट जनताले प्रत्यक्ष लाभ प्राप्त गर्ने सुनिश्चितता भएमा यस विषयमा छलफल हुन सक्ने उल्लेख गरेका छन्।
तर, देशको वर्तमान आर्थिक अवस्था, बढ्दो सरकारी खर्च तथा जनतामाथि बढ्दै गएको करको भारलाई मध्यनजर गर्दा नयाँ सुविधा थप्ने निर्णयप्रति स्वाभाविक रूपमा प्रश्न उठ्ने उनको भनाइ छ। उनले राज्यको सीमित स्रोत–साधनको उपयोग गर्दा जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
पुन मगरका अनुसार अहिले जनताको मुख्य चासो रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र सुशासनको सुनिश्चितता हो। त्यसैले यी आधारभूत क्षेत्रमा ठोस उपलब्धि हासिल नगरी अतिरिक्त सुविधा वा नयाँ खर्चका विषयमा अघि बढ्नु उपयुक्त नहुने उनको तर्क छ।
उनले लोकतान्त्रिक व्यवस्थामा जनताको विश्वास बढाउने, राज्यको स्रोत–साधनको जिम्मेवार उपयोग गर्ने तथा जनहितलाई सर्वोच्च प्राथमिकतामा राखेर निर्णय गरिनुपर्नेमा जोड दिएका छन्। सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने विषयमा विभिन्न तहमा बहस भइरहेका बेला पुन मगरको यो धारणाले सार्वजनिक खर्च, सुशासन र जनउत्तरदायित्वको विषयलाई पुनः केन्द्रमा ल्याएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend