सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नयाँ आर्थिक वर्षसँगै राष्ट्रसेवकको तलब बढ्यो, आजदेखि नयाँ तलब लागू

नयाँ आर्थिक वर्षसँगै राष्ट्रसेवकको तलब बढ्यो, आजदेखि नयाँ तलब लागू

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिनदेखि राष्ट्रसेवक कर्मचारीका लागि संशोधित तलबमान लागू भएको छ। सरकारले महँगीको प्रभाव न्यूनीकरण गर्दै कर्मचारीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले तलबमा वृद्धि गरेको हो।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको व्यवस्थाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक तथा अन्य राष्ट्रसेवक कर्मचारीको प्रारम्भिक तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको छ। यो व्यवस्था आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

जेठ १५ गते संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि तलब समायोजन हुन नसकेको अवस्थालाई ध्यानमा राखी कर्मचारीको सुरुआती तलबमान बढाइएको बताएका थिए। पछिल्ला चार वर्षदेखि तलब स्थिर रहेकाले बढ्दो महँगीका बीच कर्मचारीलाई राहत दिन यो निर्णय गरिएको सरकारको भनाइ छ। यसअघि उपलब्ध गराइँदै आएको महँगी भत्ता पनि यथावत् कायम राखिएको छ।

सरकारले तलब वृद्धिसँगै कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीको पनि सुरुवात गरेको छ। यसअन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा मासिक १० प्रतिशतसम्म अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराइने व्यवस्था बजेटमा समेटिएको छ। यसले कर्मचारीलाई जिम्मेवार, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नयाँ तलब संरचनाअनुसार ग्रेडसहित तल्लो तहका कर्मचारीको मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँको हाराहारीमा पुगेको छ भने उच्च तहका कर्मचारीले १ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक प्राप्त गर्नेछन्। तलब वृद्धि, महँगी भत्ता र कार्यसम्पादनमा आधारित प्रोत्साहनसमेत जोडिँदा कर्मचारीको कुल आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको अनुमान छ।

सरकारले यो व्यवस्थाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको मनोबल उकास्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend