सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

  पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ शुभ जन्मोत्सव विशेष कार्यक्रम सम्पन्न

  पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ शुभ जन्मोत्सव विशेष कार्यक्रम सम्पन्न

काठमाडौं, असार २१ । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको ८०औँ शुभ जन्मोत्सवको अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु तथा राष्ट्रमा अटल सुशासनको कामनासहित “नेपाल राष्ट्रको निर्माणमा राजसंस्थाको अपरिहार्यता” विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।

ज्ञानेन्द्र वीर विक्रम शाहको ८०औँ शुभ जन्मोत्सव नागरिक मूल समारोह प्रवचन गोष्ठी प्रबन्ध उपसमितिको आयोजनामा आइतबार (२०८३ असार २१ गते) बत्तीसपुतलीस्थित होटल तपसमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, राजसंस्था समर्थक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डा. जगमान गुरुङले आफ्नो मन्तव्य राख्दै नेपालको इतिहास, राष्ट्रिय एकता, सार्वभौमिकता तथा सांस्कृतिक पहिचानसँग राजसंस्थाको सम्बन्ध रहेको धारणा व्यक्त गरे। उनले नेपालको राजनीतिक यात्राका विभिन्न चरणहरूको चर्चा गर्दै राष्ट्रिय स्थायित्व, सामाजिक सद्भाव र दीर्घकालीन राष्ट्रिय हितका विषयमा गम्भीर बहस आवश्यक रहेको बताए।

कार्यक्रमको सभापतित्व गजेन्द्र बहादुर अर्यालले गरेका थिए भने ऋषिबाबु परिवारले शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको सुस्वास्थ्य, दीर्घायु तथा राष्ट्रप्रतिको योगदानको स्मरण गरेका थिए। उनले देशको समृद्धि, राष्ट्रिय एकता र स्थिरताको कामना गर्दै शुभ जन्मोत्सवको अवसरमा शुभेच्छा व्यक्त गरे।

सो अवसरमा विष्णु भट्टराई, राधेश्याम थापा, जयन्तनाथ खनाल, बलभद्र भारती, राजाराम श्रेष्ठलगायत वक्ताहरूले पनि शुभकामना मन्तव्य राख्दै नेपालको राष्ट्रिय पहिचान, परम्परा, संस्कृति तथा राजसंस्थाको भूमिकाबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए। वक्ताहरूले नेपालको राजनीतिक विकासक्रम, वर्तमान चुनौती र भविष्यका सम्भावनाका विषयमा विचार राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर खुला बहस र संवाद आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरूले पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको जन्मोत्सवको अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु र सुखद भविष्यको कामना गरेका थिए। साथै, नेपालको राजनीतिक व्यवस्था, राष्ट्रिय एकता, सुशासन र विकाससँग सम्बन्धित विषयमा विचार–विमर्श गर्दै लोकतान्त्रिक पद्धतिभित्र राष्ट्रिय मुद्दामा निरन्तर संवाद र बहस हुनुपर्नेमा जोड दिएका थिए। अन्तरक्रिया कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend