सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्टडी इन नेपाल अभियानलाई गति दिन इक्यान–आइप्यानबीच रणनीतिक साझेदारी

स्टडी इन नेपाल अभियानलाई गति दिन इक्यान–आइप्यानबीच रणनीतिक साझेदारी

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने साझा लक्ष्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीसँगै दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने, नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा विदेशी विद्यार्थीहरूका लागि नेपाललाई विश्वसनीय अध्ययन गन्तव्यका रूपमा विकास गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौताअनुसार अब इक्यानका सदस्य शैक्षिक परामर्शदाता संस्थाहरूले आइप्यानअन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त कलेज तथा शैक्षिक संस्थामा सञ्चालित शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति, अध्ययनका अवसर र करियरसम्बन्धी अद्यावधिक जानकारीमा प्रत्यक्ष पहुँच पाउनेछन्। यसबाट विद्यार्थी र अभिभावकलाई तथ्यपरक, गुणस्तरीय तथा विश्वसनीय शैक्षिक परामर्श उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

दुवै संस्थाले व्यावसायिक, पारदर्शी, नैतिक र जिम्मेवार कार्यसंस्कृतिलाई प्रवर्द्धन गर्दै शैक्षिक परामर्शदाता संस्था र अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त उच्च शिक्षा प्रदायक संस्थाबीच दीर्घकालीन सहकार्यलाई संस्थागत गर्ने सहमति गरेका छन्।

समझदारीपत्रमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रिय ब्रान्डिङ, अनुसन्धान, शैक्षिक कूटनीति तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तारमा समेत संयुक्त पहल गर्ने उल्लेख गरिएको छ। यस अभियानमार्फत विदेशी विद्यार्थी, अनुसन्धानकर्ता तथा शैक्षिक साझेदारलाई नेपालसँग जोड्ने लक्ष्य लिइएको छ।

यस्तै, क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक अभिमुखीकरण, अन्तरक्रिया, नीतिगत संवाद, बीटूबी नेटवर्किङ, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रमहरू पनि संयुक्त रूपमा सञ्चालन गरिने भएको छ। यसबाट शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूबीच समन्वय, सूचना आदान–प्रदान र सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ।

समझदारीले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ। आर्थिक रूपमा कमजोर, जेहेन्दार, प्रतिभाशाली तथा अवसरबाट वञ्चित विद्यार्थीलाई आइप्यानका सदस्य संस्थाहरूमा छात्रवृत्ति तथा विशेष शैक्षिक अवसर उपलब्ध गराउन दुवै संस्थाले सहकार्य गर्ने भएका छन्।

कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष लक्ष्मण पौडेल, पूर्वअध्यक्ष शेषराज भट्टराई, आइप्यानका अध्यक्ष लक्ष्मण केसी तथा महासचिव शैलजा अधिकारीले नेपालमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन–अध्यापनका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका थिए। उनीहरूले सरकार, विश्वविद्यालय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्दै ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

इक्यान तीन दशकभन्दा बढी समयदेखि नेपालमा शैक्षिक परामर्श क्षेत्रको अग्रणी छाता संस्थाका रूपमा सक्रिय रहँदै आएको छ भने आइप्यान विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त उच्च शिक्षा संस्थाहरूको साझा संगठनका रूपमा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा, अनुसन्धान, नवप्रवर्तन र शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्दै आएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend