काठमाडौं । डेमोक्र्याटिक लयर्स एशोसिएशन (डि.एल.ए.) जिल्ला कार्यसमिति काठमाडौंको पाँचौं अधिवेशन तथा साधारणसभा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। उद्घाटन समारोहसँगै बन्दसत्र पनि सम्पन्न भएको छ भने अधिवेशनको दोस्रो दिन अर्थात् असार १३ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ।
अधिवेशन उद्घाटन समारोहको अध्यक्षता डि.एल.ए. जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष अधिवक्ता सुशीलाराज पौडेलले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसी रहेका थिए भने विशिष्ट अतिथिका रूपमा नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र सहभागी भएका थिए।
उद्घाटन समारोहमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनका पूर्व अध्यक्षहरू वरिष्ठ अधिवक्ता महादेव यादव, रजितभक्त प्रधानाङ्ग, शेरबहादुर केसी, उपेन्द्र केशरी न्यौपाने, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, निर्वाचन समितिका संयोजक तथा पूर्व अध्यक्ष अधिवक्ता भरतप्रसाद खरेल, निर्वतमान अध्यक्ष वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्षहरू वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल र प्रेमबहादुर खड्का, काठमाडौं जिल्ला बारका पूर्व अध्यक्ष तथा नेपाल बार काउन्सिलका पार्षद अधिवक्ता श्रीराम दवाडी, डि.एल.ए. नेपालका पूर्व महासचिव रामकुमार श्रेष्ठ तथा नेपाल बार एशोसिएशनका पूर्व महासचिव वरिष्ठ अधिवक्ता माधवप्रसाद वास्कोटा लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा वक्ताहरूले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा कानुन व्यवसायीहरूको पेशागत अधिकार र मर्यादाको संरक्षणका लागि डेमोक्र्याटिक लयर्स एशोसिएशनले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गरेका थिए। उनीहरूले कानुन व्यवसायीबीचको एकता, पेशागत मर्यादा र संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउँदै संगठनलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
उद्घाटन समारोह सम्पन्न भएपछि बन्दसत्र सञ्चालन गरिएको थियो। बन्दसत्रमा संगठनको सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्नुका साथै भावी कार्यदिशा, संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमबारे विभिन्न प्रस्तावहरूमा छलफल भएको जनाइएको छ।
डि.एल.ए. जिल्ला कार्यसमिति काठमाडौंको नयाँ नेतृत्व चयनका लागि शनिबार असार १३ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ। निर्वाचनबाट अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिनेछ। अधिवेशनलाई लोकतान्त्रिक कानुन व्यवसायीहरूको महत्वपूर्ण संगठनात्मक पर्वका रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend