काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। मंगलबार प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका हुन्। नवनियुक्त दुवै मन्त्रीले सोही दिन राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले मन्त्रिमण्डल विस्तार गरे पनि रक्षा मन्त्रालयको जिम्मेवारी भने अझै आफैंसँग राखेका छन्।
गृहमन्त्री नियुक्त गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट निर्वाचित सांसद हुन्।
दुवै मन्त्रीका लागि यो सरकारमा दोस्रो कार्यकाल हो। गुरुङ यसअघि चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। तर उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।
त्यसैगरी, महावीर पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
प्रधानमन्त्री शाहले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिमण्डल पुनर्गठन गरिएको जनाइएको छ। नयाँ नियुक्तिसँगै सरकारको सेवा प्रवाह, सुरक्षा व्यवस्थापन तथा नवप्रवर्तनको क्षेत्रमा नयाँ गति आउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend