सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजसंस्था पुनर्स्थापनाको आन्दोलन कमजोर बनाइएको  लुइँटेलको दाबी 

राजसंस्था पुनर्स्थापनाको आन्दोलन कमजोर बनाइएको  लुइँटेलको दाबी 

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुइँटेलले राजसंस्था पुनर्स्थापना, वैदिक सनातन हिन्दु राष्ट्र स्थापना तथा संघीयता खारेजीको मागसहित सञ्चालन गरिएको आन्दोलनलाई कमजोर बनाइएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष लुइँटेलले गत जेठ १५ गतेदेखि नवराज सुवेदीको संयोजकत्वमा आन्दोलन समिति गठन गरी विभिन्न राजावादी तथा हिन्दुवादी शक्तिहरू एकजुट भएर आन्दोलनमा सहभागी भएको उल्लेख गरेका छन्। उनका अनुसार आन्दोलनमा  राजेन्द्र लिङ्देन   नेतृत्वको राप्रपा,   कमल थापा नेतृत्वको राप्रपा नेपाल,  केशर बहादुर बिष्ट   नेतृत्वको राष्ट्रिय शक्ति नेपाल तथा ४४ वटा धार्मिक संगठन सहभागी भएका थिए।

लुइँटेलले आन्दोलनका लागि देशभरका ७७ जिल्लाबाट कार्यकर्ताहरू काठमाडौं आएको भए पनि नवराज सुवेदीको संयोजकत्वलाई लिएर असन्तुष्टि सिर्जना गरिएको र त्यसले आन्दोलनलाई कमजोर बनाएको दाबी गरेका छन्। उनले जेठ १९ गते आन्दोलन स्थगन गरिनु नै पछिल्ला घटनाक्रमको प्रमुख कारण बनेको आरोप लगाएका छन्।

उनले आन्दोलनका क्रममा पक्राउ परेका  धवल शमशेर राणा, रविन्द्र मिश्र   लगायतका नेताहरू तथा कार्यकर्ताहरूलाई पर्याप्त संरक्षण र साथ नदिइएको गुनासो पनि व्यक्त गरेका छन्।

फेसबुक पोस्टमा अध्यक्ष लुइँटेलले राजसंस्था पुनर्स्थापनाको आन्दोलन कुनै एक व्यक्तिको नेतृत्वमा मात्र सम्भव नहुने उल्लेख गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले विशेषगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आन्दोलनका पक्षधर शक्तिहरूलाई एकताबद्ध गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

लुइँटेलले पार्टीभित्रको विभाजन र असमझदारी बढ्दै गए राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको राजनीतिक शक्तिको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। साथै उनले कार्यकर्ताहरूको भावना र जनचाहनालाई सम्मान गर्दै साझा लक्ष्यका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उक्त अभिव्यक्ति अध्यक्ष लुइँटेलले आफ्नो व्यक्तिगत फेसबुक पोस्टमार्फत सार्वजनिक गरेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend