काठमाडौं । बकर इद पर्वसँगै आजदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद-उल-अज्हा) का अवसरमा आज सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगबाट जेठ १४ गते बकर इद परेको जानकारी प्राप्त भएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । मन्त्रालयले बकर इदका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना समेत व्यक्त गरेको छ ।
यसैबीच, भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पनि सार्वजनिक बिदा रहेको छ । त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा परेकाले यो साता लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend